Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo

बाधाहरू चिर्दै: नेपालको विद्युतीय यातायातमा महिला चालकहरूको उदय

बाधाहरू चिर्दै: नेपालको विद्युतीय यातायातमा महिला चालकहरूको उदय

तालिम सुरु भएको १५ दिन बितिसक्दा, काठमाडौंका महिलाहरूको एउटा समूह यस्तो सीप सिक्दैछ जुन लामो समयदेखि उनीहरूको पहुँचभन्दा बाहिर थियो — सार्वजनिक यातायातका साधन चलाउने सीप। मिटिगेसन एक्सन फेसिलिटीको सहयोगमा सञ्चालित सस्टेनेबल ईलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनामार्फत, परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको यस क्षेत्रमा महिलाहरूलाई विद्युतीय मिनी तथा माइक्रोबसहरू चलाउन प्रशिक्षित गरिँदैछ।

यस तालिमले विभिन्न पृष्ठभूमि र अनुभव भएका महिलाहरूलाई एकै ठाउँमा ल्याएको छ। सहभागीहरूमध्ये कोही वर्षौंदेखि काठमाडौंका सडकमा विद्युतीय तीन-पाङ्ग्रे सफा टेम्पो गुडाउँदै आएका अनुभवी चालक छन् भने, कोही यसअघि कहिल्यै इलेक्ट्रिक स्कुटर समेत नचलाएका महिलाहरू छन्। यी सबैलाई एउटै सूत्रमा जोड्ने आधार भनेको आर्थिक आत्मनिर्भरताको साझा चाहना र 'ड्राइभिङ' एउटा जागिर मात्र नभई जीवनोपयोगी सीप हो भन्ने विश्वास हो। 

यसको प्राविधिक सिकाई निकै चुनौतीपूर्ण छ। 'फिगर-एट' (८ आकारको फन्को) र 'हिल स्टार्ट' (उकालोमा गाडी उठाउने) जस्ता कडा अभ्यासहरूले दृढ संकल्प बोकेका सहभागीहरूको पनि ठूलै परीक्षा लिएको छ। "यति धेरै ध्यान दिनुपर्छ कि कहिलेकाहीँ त सास फेर्नै बिर्सिए जस्तो हुन्छ," एक प्रशिक्षार्थीले भनिन्। सुरुका दिनहरूमा धेरैजसोमा छटपटी र डर थियो, तर समय बित्दै जाँदा र धैर्यवान प्रशिक्षकहरूको साथले त्यो डर अहिले आत्मविश्वासमा परिणत भएको छ।

२३ वर्षीया निशाका लागि यो तालिम केवल एउटा अवसर मात्र नभई व्यक्तिगत लगावको विषय पनि हो। स्वयं एक सफा टेम्पो चालक रहेकी आफ्नी आमालाई यो कार्यक्रममा सहभागी भएको देखेपछि निशाले आफ्नो हस्पिटालिटी क्षेत्रको जागिर नै छाडेर यसमा होमिएकी हुन्। "हामीले यस्ता जीवनोपयोगी सीपहरू सिक्नै पर्छ," उनले भनिन्, "एक युवाका लागि यसले जीवनमा केही गर्ने आधार र आत्मविश्वास दिन्छ।"

अन्यका लागि भने यो कार्यक्रम सार्वजनिक स्थलहरूमा आफ्नो प्रतिष्ठा स्थापित गर्न लामो समयदेखि जारी संघर्षको निरन्तरता जस्तै हो। विगत १३ वर्षदेखि सफा टेम्पो चलाउँदै आएकी अञ्जना लामा यो पेशामा सुरुवाती दिनहरूमा महिलाले भोग्नुपरेको सामाजिक संकुचितता अझै सम्झिन्छिन्। "हामीले सफा टेम्पो चलाउन सुरु गर्दा मानिसहरू हामीलाई हेलाको दृष्टिले हेर्थे," उनले भनिन्। "अहिले यो क्षेत्रमा हाम्रो बाहुल्यता छ। अब यी ठूला बसहरूमा पनि हामी त्यस्तै पहिचान बनाउनेछौँ।" उनको लक्ष्य अन्ततः आफ्नै विद्युतीय माइक्रोबस किनेर सार्वजनिक यातायात व्यवसायीका रूपमा स्थापित हुने रहेको छ।

यस कार्यक्रमको प्रभाव तालिम केन्द्रको घेराभन्दा बाहिर पनि बिस्तारै फैलिरहेको छ। धेरै महिलाहरूले सामाजिक सञ्जालमार्फत यो अवसरको बारेमा थाहा पाएका हुन् भने, कतिपयमा साथीभाइ र परिवारको माध्यमबाट यसप्रति चासो बढेको छ। "मलाई लाग्छ, जब मानिसहरूले सडकमा महिला चालकहरूलाई देख्नेछन्," ३० वर्षीया प्रशिक्षार्थी देसाङले भनिन्, "तब उनीहरूको मनमा पनि 'मैले पनि यो गर्न सके हुन्थ्यो' भन्ने इच्छा जाग्नेछ।"

तालिमका माध्यमबाट महिलाहरूलाई प्राथमिकतामा राखेर SET4NPL ले विद्युतीय यातायाततर्फको यो रूपान्तरणलाई सामाजिक रूपमा समावेशी बनाउन समेत सुनिश्चित गरिरहेको छ। यी महिलाहरू जब व्यावसायिक चालकका रूपमा सडकमा उत्रन तयार हुनेछन्, उहाँहरूले केवल सवारी साधन चलाउन मात्र सिक्ने छैनन्; बरु सार्वजनिक यातायात वास्तवमा कसका लागि हो र सहरलाई अघि बढाउने सामर्थ्य कसले राख्छ भन्ने भाष्यलाई नै नयाँ सिराबाट परिभाषित गर्नेछन्।

Picture2-article.jpg

सम्बन्धित समाचार

© २०२५ SET4NPL. सर्वाधिकार सुरक्षित।