Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo

सडक उही, उत्साह नयाँ: विद्युतीय यातायातको रूपान्तरणलाई महिला चालकहरू अपनाउदै

A woman wearing a green polo shirt stands smiling beside a green-and-white three-wheeled electric vehicle, holding a green flag, with a route sign visible in the front window.

पार्वती श्रेष्ठ झण्डै दुई दशकदेखि काठमाडौँका सडकमा एउटै रुटमा सफा टेम्पो गुडाउँदै आएकी छिन्। सन् १९९० को दशकदेखि नै काठमाडौँको सार्वजनिक यातायातको एक मुख्य हिस्सा बनेको 'सफा टेम्पो' ब्याट्रीबाट चल्ने तीन-पाङ्ग्रे सवारी साधन हो, जसले ठूला बसहरू छिर्न नसक्ने साँघुरा र भिडभाडयुक्त गल्लीहरूमा यात्रुहरूलाई सेवा दिँदै आएको छ। पार्वतीले सन् २००३ मा तीन-पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा महिला व्यावसायिक चालकहरू बिरलै देखिन्थे। उनले अन्य १६ जना प्रशिक्षार्थीहरूसँगै परीक्षा दिएकी थिइन् — जसमा ६ जना महिला थिए — र उनले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। नेपालमा लाइसेन्स प्राप्त गर्न घूस खुवाउनु सामान्य मानिने त्यस समयमा उनले त्यसो गर्न अस्वीकार गरिन्। 'जे पाइन्छ आफ्नै पसिनाले कमाउनुपर्छ र काम इमानदारीका साथ गर्नुपर्छ' भन्ने सिद्धान्त उनले आत्मसात गरेकी थिइन्, जसले आजसम्म उनको व्यावसायिक जीवनलाई परिभाषित गरिरहेको छ।

उनलाई यस पेशामा आकर्षित गर्ने मुख्य कुरा केवल रोजगारी मात्र थिएन, आत्मनिर्भरता थियो। पछिल्ला दशकहरूमा घरभाडा र दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको काठमाडौँ जस्तो सहरमा सिमित तलबले मात्र आर्थिक आवश्यकता धान्न मुस्किल हुन्छ। अरू कसैको मातहतमा काम गर्नुको सट्टा आफैँ मालिक बनेर गाडी चलाउँदा पार्वतीलाई आफ्नो समयको व्यवस्थापन गर्न, आफ्नो कमाइ आफैँसँग राख्न र कसैको दबाब बिना काम गर्न सजिलो भयो। त्यही कमाइले नै उनको कोठाभाडा, खाना, छोराछोरीको पढाइ र सवारी साधन मर्मतका नियमित खर्चहरू — जस्तै ब्याट्री फेर्ने, ऋणको किस्ता तिर्ने र सडकमा गाडी गुडाउँदा आइपर्ने साना तर नियमित खर्चहरू — धान्दै आएको छ।

उनी त्यो स्वतन्त्रता प्राप्त गर्न कति संघर्ष गर्नुपर्छ र के कस्ता कुराले त्यसलाई अझ कठिन बनाउँछन् भन्नेबारे निकै स्पष्ट थिइन्। एक महिलाका लागि यस क्षेत्रमा लाग्नुको अर्थ अँध्यारोमै घर छोड्नु र अबेर गरी घर फर्कनु हो। उनी भन्छिन्, यस्तो अवस्थामा परिवारको साथ र सहयोग महत्त्वपूर्ण हुन्छ; र परिवारको साथ बिना यस पेशाका व्यावहारिक र सामाजिक दबाबहरू झेल्न निकै कठिन हुन्छ।

"आफ्ना सन्तानप्रतिको मेरो माया जति प्रगाढ छ, सवारी चालक हुनुप्रतिको मेरो लगाव पनि त्यत्तिकै बलियो छ। ड्राइभिङ नै त्यस्तो माध्यम हो जसले मलाई उनीहरूको हेरचाह गर्ने सामर्थ्य दियो। यदि मैले यसलाई छाडेकी भए, मैले सायद आफ्नो सर्वस्व नै गुमाउने थिएँ।" — पार्वती श्रेष्ठ

यात्राको अन्तिम मोडमा पुगेको एउटा लर्को

सफा टेम्पोको लस्कर अहिले आफ्नो सञ्चालन अवधिको अन्तिम चरणमा पुगेको छ। यी सवारी साधनहरूको सुरुवाती २० वर्षे अनुमतिलाई विस्तार गरेर ३० वर्ष त पुर्‍याइयो, तर अब त्यो म्याद पनि सकिन लागेको छ। अब करिब दुई वर्ष मात्र बाँकी छ र यसको म्याद थपिने वा नथपिने भन्नेबारे अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन। यी गाडीका स्टेयरिङ समातेर आफ्नो ऊर्जाशील जीवनका दशकौँ बिताएका चालकहरूका लागि अबको बाटो के हुने भन्ने प्रश्न निकै पेचिलो र व्यक्तिगत बनेको छ।

Parbati-Shrestha-completes-a-circuit-training.webp
काठमाडौँमा आफ्नो चार-पाङ्ग्रे सवारी चालक अनुमति पत्रको तयारीका लागि 'सर्किट ट्रेनिङ' पूरा गर्दै पार्वती श्रेष्ठ। तस्बिर: दिवाकर राई/GGGI

यहाँ सस्टेनेबल ईलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाको भूमिका महत्त्वपूर्ण देखिन्छ। मिटिगेसन एक्सन फेसिलिटीको सहयोगमा सञ्चालित यस परियोजनाले नेपालको विद्युतीय सार्वजनिक यातायाततर्फको रूपान्तरणले विस्थापन नभई नयाँ अवसरहरू सिर्जना गरोस् भन्ने कुरा सुनिश्चित गरिरहेको छ। विशेष गरी यस क्षेत्रमा पहिलेदेखि नै आफ्नो जीविकोपार्जन गरिरहेका महिलाहरूका लागि यो परियोजना एउटा बलियो सहारा बनेको छ।

Parbati-Shrestha-attends-SET4NPL-training-session.webp
महिला विद्युतीय माइक्रोबस चालक तालिमको एक हिस्साका रूपमा सवारी साधनको मर्मत सम्भार सम्बन्धी SET4NPL को तालिम सत्रमा सहभागी हुँदै पार्वती श्रेष्ठ। तस्बिर: जीआईजेड नेपाल (GIZ Nepal)

नयाँ लहरमा सहभागी हुँदै

जब SET4NPL ले महिलाहरूका लागि विद्युतीय माइक्रोबस चालक तालिम कार्यक्रम सुरु गर्‍यो, पार्वती समयको गतिसँगै अघि बढ्ने र केही नयाँ सिक्ने आफ्नै इच्छाले त्यसमा सहभागी भइन्। यो तालिमको सुरुवात चार-पाङ्ग्रे सवारी साधनको लाइसेन्स लिने प्रक्रियाबाट हुन्छ, र त्यसपछि मात्र ठूला विद्युतीय माइक्रोबसहरू चलाउन सिकाइन्छ; पार्वतीले यी सबै चरणहरू सफलतापूर्वक पूरा गरिन्। एक चालकका रूपमा आफ्ना विगतका वर्षहरूमा पार्वती सफा टेम्पो व्यवसायी संघभित्र सधैँ एउटा प्रखर आवाज बनेर उभिएकी थिइन् — नयाँ सोचहरू अघि सार्ने, सुधारका लागि दबाब दिने र अरूलाई प्रोत्साहित गर्ने उनको स्वभाव थियो। त्यही स्वभाव र ऊर्जा उनले SET4NPL को तालिम कार्यक्रममा पनि देखाइन्।

उनले सफा टेम्पो चालकको समुदायमा आफ्ना अनुभवहरू निर्धक्कसँग साटासाट गरिन् र आफ्नो वरपरका अन्य महिलाहरूलाई पनि तालिमको दोस्रो समूहमा सहभागी हुन प्रोत्साहित गरिन्। वास्तवमा, यो समुदाय र यसभन्दा बाहिरका महिलाहरूमा पनि यस्तो अवसरप्रति निकै ठूलो चासो र भोक पहिलेदेखि नै थियो। नतिजास्वरूप, पछिल्लो तालिमका लागि आवेदन दिनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। आफ्ना साथीभाइ, सामाजिक सञ्जाल र पहिलो चरणको तालिम लिएकाहरूसँगको कुराकानीमार्फत यस कार्यक्रमबारे थाहा पाएका महिलाहरू अहिले उत्साहका साथ अघि बढिरहेका छन्, जसले यो क्षेत्रमा कति धेरै माग छ भन्ने कुरालाई स्पष्ट पारेको छ।

तालिमले सिर्जना गरेको नयाँ आयाम

group–of-women-from-SET4NPL-first-training-cohort.webp
SET4NPL को पहिलो चरणको तालिममा सहभागी महिलाहरूको समूह विद्युतीय माइक्रोबसको मर्मत सम्भारका बारेमा सिक्न एउटा विद्युतीय सवारी वर्कशपको भ्रमण गर्दै। तस्बिर: जीआईजेड नेपाल 

SET4NPL तालिम कार्यक्रमको अवधिमा सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गरे; उनीहरूका लागि यो केवल एउटा प्रमाणपत्र मात्र थिएन, बरु उनीहरूले के-के गर्न सक्छन् भन्ने आत्मविश्वासमा आएको एउटा ठूलो परिवर्तन थियो। यस तालिमले विभिन्न पृष्ठभूमि र फरक-फरक अनुभव भएका महिलाहरूलाई एकै ठाउँमा ल्यायो — चाहे ती वर्षौँदेखि गाडी चलाइरहेका अनुभवी हुन् वा पहिलो पटक स्टेयरिङ समातेका नयाँ पुस्ता। तालिमको समापन समारोहमा पार्वतीले यस कार्यक्रमको एउटा महत्वपूर्ण पाटोबारे चर्चा गरिन्। उनका अनुसार यस तालिमले कार्यक्रम सकिएपछि पनि जीवितै रहने एउटा बलियो आधार खडा गरेको छ: त्यो हो साझा सीप, साझा लक्ष्य र एक-अर्कालाई सहयोग गर्ने महिलाहरूको एउटा सशक्त सञ्जाल। अहिले विद्युतीय माइक्रोबसको क्षेत्रमा प्रवेश गरिरहेका उनीहरूका लागि यो सञ्जाल एउटा ठूलो सहारा बनेको छ।

SET4NPL ले आफ्नो कामलाई निरन्तरता दिइरहँदा यथार्थ निकै उत्साहजनक देखिन्छ। नेपालको विद्युतीय यातायातको भविष्यलाई डोर्‍याउन अहिले एक कुशल, उत्प्रेरित र सशक्त महिला चालकहरूको ठूलो समुदाय तयार भइरहेको छ।

सम्बन्धित समाचार

© २०२५ SET4NPL. सर्वाधिकार सुरक्षित।