एलोईद्वारा महिला विद्युतीय सवारी चालकहरुका लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन, सेट फोर नेपालको सहयोग

काठमाडौँ । एलोई प्राइभेट लिमिटेडले सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाको सहयोगमा महिला विद्युतीय सवारी चालकहरुको लागि तालिम तथा रोजगारी सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ ।
यस परियोजनाको उद्देश्य काठमाडौं उपत्यकालित्र विद्युतीय माइक्रोबस चलाउन इच्छुक महहलाहरूलाई सवारी सञ्चालनका लागि आवश्यक सीप, चालक अनुमतिपत्र (लाइसेन्स) तथा रोजगारीका अवसरहरु प्रदान गर्दै सार्वजनिक यातायात क्षेत्रमा उनीहरुको सहभागिता सुनिश्चित गर्नु हो ।
यो पहलले नेपाल सरकारको दिगो र समावेशी यातायात प्रणाली निर्माण गर्ने लक्ष्य पुरा गर्न सहयोग गर्नेछ । ‘यस सहकार्यमार्फत हामीले स्वच्छ यातायात प्रवर्द्धन मात्र होइन, महिलाहरुलाई आर्थिक रुपमा सबल र स्वतन्त्र बन्ने अवसर पनि सिर्जना गर्छौं।’ एलोई प्रालिका सिनिअर प्रडक्ट मेनेजर बिराट सिंह ठकुरीले भने ।
‘SET4NPL परियोजनाले यातायात क्षेत्रमा महिलाहरुको सहभागिता बढाउने लक्ष्य राखेको छ । तीन पाङ्ग्रे इलेक्ट्रिक टेम्पो संचालनमा महिलाहरुले देखाएको सफलतासँगै, परियोजनाले चार पाङ्ग्रे इलेक्ट्रिक मिनी र माइक्रो बस संचालनका लागि तालिम र कार्यशालाहरुको माध्यमबाट सहयोग गर्दै यो पेशा अझ समावेशी बनाउँछ ।’ ग्लोबल ग्रीन ग्रोथ इन्सिच्युट (जीजीजीआई) नेपालका सिनिअर प्रोग्राम अफिसर प्रतिक कार्कीले भने ।
परियोजनाका मुख्य उदेश्यहरू:
- इलेक्ट्रिक माइक्रोबस ड्राइभिङ र लाइसेन्स प्राप्ति
- प्राविधिक मर्मत र सवारी व्यवस्थापन सीप
- व्यवसाय विस्तार र वित्तीय साक्षरता
- नेतृत्व विकास र शशक्तिकरण

द्रष्टव्य: यो लेख मूल रूपमा अर्थ सरोकारद्वारा २०८२, कार्तिक १९ गतेमा प्रकाशित भएको थियो र https://arthasarokar.com/2025/11/aloyi-conducts-training-and-employment-program-for-female-electric-vehicle-drivers-supported-by-set4-nepal.html मा उपलब्ध छ।


